आजको वार्ता सार्थक नभए फेरि बस्दैनौं : मोर्चा

भिडियो सहित हेर्नुहोस !
Advertisement
जनकपुर–संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आज (आइतबार) सरकारसँग भइरहेको वार्ता निरर्थक भए यहीँ अवस्थामा फेरि वार्ता नबस्ने निर्णय गरेको छ।

सरकारले वार्ताको नाउँमा आन्दोलनलाई मत्थर बनाउने प्रयास गरेको र जनतालाई गुमराहमा राखेको ठहर गर्दै मोर्चाले यस्तो निर्णय लिएको बैठकमा सहभागी तराई मधेश सद्भावना पार्टीकी उपाध्यक्ष रानी शर्मा तिवारीले जनाइन्। शनिबार देखि चलेको बैठक आइतबार सम्पन्न भए लगत्तै तिवारीले नागरिकन्युज भनिन्, 'आजको वार्तामा पनि सरकारी वार्ता टोलीले पुरानै शैली प्रस्तुत गरे पुनः वार्तामा नबस्ने र आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय बैठकले गरेको छ ।'

अबको आन्दोलनमा भारतीय नाकाबन्दी र आमहड्ताल कायमै राखी राजमार्गमा चक्काजाम गर्न थप कडाइका साथ प्रस्तुत हुने तथा यसका लागि स्थानीय स्तरका कार्यकर्तालाई परिचालन गरिने पनि बैठकले निर्णय गरेको छ । त्यस्तै, करिब तीन महिनादेखि जारी आन्दोलनको कारण तराई मधेशको व्यवसाय ठप्प भएको कारण सो अवधी भर लाग्ने बैंकको व्याज तथा जरिवाना, विद्युत र टेलिफोन शुल्कमा लाग्ने जरिवाना मिनहा गर्न पनि सरकारसँग मोर्चाले माग राख्ने निर्णय भएको तिवारीले जानकारी दिइन्।

शनिबार साँझ साढे पाँच बजेबाट सुरु भएको मोर्चा बैठक आइतबार अपरान्ह तीन बजे सम्पन्न भएको छ । बैठकमा भएको निर्णय सार्वजनिक गर्न आइतबारै साढे चार बजे पत्रकार सम्मेलन गर्ने मोर्चा घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जनाए ।

बैठकमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो, तराई मधेश सद्भावना पार्टी अध्यक्ष महेन्द्र राय यादव, फोरम नेपालका वरिष्ठ नेता अशोक राई, तमलोपा उपाध्यक्ष वृषेशचन्द्र लाल, महामन्त्री जितेन्द्र सोनल, तमसपाकी उपाध्यक्ष रानी शर्मा तिवारी, फोरम केन्द्रीय सदस्य हरिनारायण यादव, सद्भावना केन्द्रीय सदस्य लालकिशोर साहलगायत १२ जना नेता सहभागी थिए ।

Share this

Related Posts

Previous
Next Post »